जनकपुरधाम, चैत २१ गते ।
जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित विवाह मण्डपबाट उत्तरतर्फ आकर्षक भवनहरू बन्दैछन्। चारैतिर पर्खालले घेरिएको जग्गामा रामायणकालको झलक आउने गरी विवाहमण्डप बन्दैछ।
यो त्यहीँ ठाउँ हो जहाँ त्रेता युगमा राम र सीताको विवाह भएको थियो भन्ने विश्वास गरिन्छ।
गुठी संस्थानले विवाहमण्डपमा भौतिक संरचना निर्माणका लागि साढे चार बिघा जग्गा उपलब्ध गराएको छ। राम–सीताको विवाह भएको भनिएको मण्डपकै छेउमा मिथिला क्षेत्रको पौराणिकता झल्किने गरी राजा जनकको दुई तले दरबार पनि बन्दैछ। दरबारमा २५ वटा शयन कक्ष र दुई वटा भोजन कक्ष छन्। दुई वटा शौचालय छन्। स्नान कक्ष सहितको कोठा पनि छ।
वर–वधुको विश्रामका लागि दुई वटा धर्मशाला भवन बन्दै छन्। यहीँ वेदी मण्डप बनेको छ जसलाई सिँगार्ने काम हुँदैछ। एउटा स्वयंवर मण्डपसहित अन्य तीन वटा मण्डप बन्दैछन्।
‘डबल हाइट पब्लिक कोर्ट रूम’ पनि बन्दैछ जसमा ३० जना अटाउने छन्। मण्डप छेवैमा प्रसाद र शृंगारका सामान बेच्न व्यापारिक भवन पनि बनाइएको छ।
सुविधा सम्पन्न र आकर्षक यी संरचना देखेर यहाँका बासिन्दा दंग छन्।
‘त्रेतायुगको जस्तै जनक दरबार बनिरहेको छ। यहाँ सीता माताको जस्तै विवाह हुन्छ। देश विदेशबाट तीर्थालुहरू आउँछन्। व्यापार–व्यवसाय बढ्छ,’ स्थानीय किशोरी राउत कुर्मी भन्छन्, ‘धर्मको काम भइरहेको देखेर हामी धेरै खुसी छौं।’
स्थानीयवासी, विभिन्न संघसंस्था र जानकी मन्दिर व्यवस्थापनले विवाह मण्डपको सौन्दर्यीकरण र नयाँ संरचना निर्माण गर्न माग गर्दै आएका थिए।
यसै अनुसार सहरी विकास मन्त्रालयको ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत २०७४ साल माघमा सीतापुष्प वाटिका मणिमण्डपमा पूर्वाधार निर्माण गर्न ‘रविना कन्स्ट्रक्सन प्रालि’ सँग ठेक्का सम्झौता भएको थियो।
उक्त संरचना निर्माणका लागि २२ करोड ७७ लाख ९९ हजार रूपैयाँ (भ्याटबाहेक) लाग्ने अनुमान गरिएको थियो। रविना कन्स्ट्रक्सनले अनुदानभन्दा कम १८ करोड १५ लाख २२ हजार रूपैयाँमा सहरी विकास विभागसँग ठेक्का सम्झौता गरेको थियो। जग्गा विवादका कारणले काम थाल्न एक वर्ष ढिलो भयो। काम २०७५ पुसमा सुरू भयो। निर्माणको काम २०८० मंसिर २२ गते सम्पन्न गर्ने सम्झौता थियो । तर उक्त समयमा काम सम्पन्न हुन नसकेपछि फेरि म्याद थप गरिएको छ।
संघीय आयोजना कार्यान्वयन एकाइ, धनुषाका साइट सबइन्जिनियर मनोज मण्डलका अनुसार कोरोना संक्रमण महामारीका कारण निर्माण कार्यमा केही असर पर्यो।
उनले भने, ‘जानकी मन्दिरकै शैलीमा यी भवनहरूको डोम र गुर्जा बनाउने सम्झौता छ। त्यसअनुसार काम गर्न भारतको राजस्थानबाट बुट्टा बनाउने मिस्त्री ल्याउनुपर्यो, ६ वटा गुर्जा बनाउन ९ महिना लाग्यो।’
हाल धमाधम काम भइरहेको छ। प्लास्टर, पुटिङ, बुट्टा, फिनिसिङ लगायको काम हुँदैछ। मार्बल लगाइँदै छ। फर्निचर, विद्युत र पेन्टिङको काम बाँकी छ।
भवनको काम सकिएपछि विवाहमण्डपभित्र चारैतिर फूलबारी बनाइने छ। विवाह मण्डप परिसरमा एउटा सानो पोखरी पनि छ जहाँ सीताले हात धोएको विश्वास गरिन्छ। पोखरी सौन्दर्यीकरणको योजना पनि छ तर अहिलेको ठेक्का सम्झौतामा समेटिएको छैन। पोखरी किनारमा चम्पादेवीको मन्दिर छ। विवाहका बेला सीताले यही मन्दिरमा पूजापाठ गरेको विश्वास छ। यो मन्दिरको पनि सौन्दर्यीकरण गर्ने योजना छ।
यहाँ बिहेका लागि आउने जोडीले सीताको ‘मडवा वेदी’ मा पूजा गर्ने चलन छ। मडवा वेदी कसरी पुनसंरचित र सौन्दर्यीकरण गर्ने भन्ने टुंगो लागेको छैन। वेदी भएको ठाउँमा उत्खनन् गर्दा पुराना गहना, सिन्दुर लगायतका सामान फेला परेको स्थानीयवासीको भनाइ छ।
विवाह मण्डपभित्र पनि त्रेताकालीन प्रमाणहरू फेला पर्ने त्यहाँका बासिन्दाको दाबी छ। यहाँ पुरातत्व विभागले उत्खनन् वा परीक्षण गरेको छैन।
विवाहमण्डपपछि अन्य भवनहरू पनि बनाउने सम्झौता छ। पगलाबाबा धर्मशाला भवन, वडा नम्बर ९ स्थित रामजानकी मन्दिर, अग्निकुण्डमा हनुमान मन्दिर, क्षत्रीय मन्दिर र चित्रगुप्त सेवा समितिको भवन पनि निर्माण गर्ने सम्झौता छ।
विवाह मण्डपको काम अन्तिम चरणमा पुगेको छ तर डिजाइनमा त्रुटि भएको भन्दै केही व्यक्तिले असन्तुष्टि पनि जनाएका छन्।
विवाहमण्डपमा पूजापाठ गर्ने स्थानीयवासी दीपेन्द्र दासले भने, ‘ डिजाइन जुन हिसाबको हुनुपर्ने हो त्योसँग नमिल्ने गरी डिजाइन गरिएको छ। हामीले यहाँका इन्जिनियरलाई भन्यौं तर केही पनि जवाफ दिनुभएन।’
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले पनि विवाहमण्डप मुगल शैलीमा बनाएर त्रुटि गरेको आरोप लगाए।
केहीसमय अघि संचारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विवाहमण्डप र दरबारको डिजाइन हाम्रो मिथिला शैलीमा हुनुपर्थ्यो तर मुगल शैलीमा बनाइयो। यो गलत भयो।’
उनले पूर्वाधार निर्माणमा जानकी मन्दिर प्रशासनसँग कुनै छलफल र समन्वय नगरेको आरोप पनि लगाए।
संघीय आयोजना कार्यान्वयन एकाइ धनुषाका सब इन्जिनियर मण्डलले पारित भइसकेको डिजाइन अनुसार जनक दरबार र धर्मशाला बनाउँदा थोरै त्रुटि भएको बताए।
उतराधिकारी महन्थ दासले विवाह मण्डप निर्माणपछि पर्यटक बढ्ने विश्वास व्यक्त गरे। थपिने पर्यटकका लागि थप धर्मशालाहरू पनि बनाउनु पर्ने उनको भनाइ छ।
उनी भन्छन्, ‘अहिले यहाँका होटलहरूले दुई हजारभन्दा धेरै पर्यटक धान्न सक्दैनन्। यहाँ कम्तीमा १० वटा धर्मशाला बनाउन जरूरी छ।’
विवाह मण्डपमै संग्रहालय बनाउन र रामायण कथाअनुसार मण्डप सजाउन उनको सुझाव छ।