जनकपुरधाम, चैत १८ गते ।

सिरहामा एसईई परिक्षा संचालनकै क्रममा प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नम्बर १३ बस्ने १८ वर्षीय पप्पु कुमार सिंह रहेका छन् ।

सुखिपुर नगरपालिका वडा नम्बर ७ स्थित श्री रजै माबि बलही परीक्षा केन्द्रमा गणित विषयको परीक्षा संचालन भईरहेको अवस्थामा परीक्षा केन्द्र बाहिर फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रती फोटोकपी समेत गरी प्रश्न पत्रको गोपनियता भंग गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरिक्षक हेमन्त राइले बताए ।

उनका अनुसार जिल्लाका विभिन्न परिक्षा केन्द्रहरुबाट १३१ थान मोबाइल समेत बरामद भएको छ । परिक्षा केन्द्रहरुबाट १८ थान स्मार्ट वाच पनि बरामद भएको छ ।

आइतवार अनिवार्य गणित विषयको परिक्षामा परिक्षा हलभित्र लगेको अवस्थामा ती मोबाइलहरु बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनका लागि खटिएको टोलीले ती मोबाइल तथा स्मार्ट वाच नियन्त्रणमा लिएको प्रहरी निरिक्षक राइले बताए ।