महाजन यादव

नेपालमा देशको भुगोलको आधारमा होली लगायतका अन्य सांस्कृतिक पर्वहरुमा दिइने विदाहरुले क्षेत्रीय विभाजनको अंकुरण गरेको छ । यो समस्या अहिले मात्रै देखिएको होइन् । विगतमा पनि देखिएको थियो र भविष्यमा समेत देखिने करिब करिब निश्चित छ । त्यसैलले यसको समाधान गर्न जरुरी छ । पर्वमा दिइने विदाले क्षेत्रीय विभाजनको अंकुरण हुने समस्या र तीनका समाधानहरु मैले यस प्रकारले देखेको छु ।

समस्याहरु :

(१) हालको व्यस्था अनुसार पहाडी क्षेत्रमा दिइने विदाको भोलि पल्ट तराई-मधेस क्षेत्रमा विदा दिने चलन छ। यसले संस्कृतिको आधारमा देशको भुगोल बाँड्छ।

(२) यस्तो फरक देखिनुको कारण के देखिन्छ भने पहाडमा फागु पुर्णिामाका दिन नै होली मनाइन्छ । जबकी तराई-मधेसमा फागु पुर्णिको दिन बेलुकी होलिका दहन गरेर भोलिपल्ट होली मनाउने चलन छ ।

(३) मानिसले आफ्नो भुगोल परिवर्तन त गर्छ तर धर्म संस्कृति परिवर्तन गर्दैनन्। जहाँ जान्छन् त्यहाँ आफ्ना पर्व तिहार मनाउँछन् । त्यसैले पहाडी क्षेत्रमा मधेसी एवं तराईबासीलाई र तराई-मधेसमा पहाडी समुदायलाई यस्ता पर्वहरु मनाउन अप्ठ्यारो पर्छ। यसले समाजिक एकतामा कमजोरी ल्याउँछ।

(४) जनकपुरधाम जस्तो तिर्थस्थलमा होली मनाउने दिनको निर्धारण ३ वटा सुत्रले निर्धारण गर्छ। (क) फागु पुर्णिामा, (ख) १५ दिने वृहत् परिक्रमा, (ग) मंगलबार दिन। यसपालीको होली जनकपुरधाममा धेरैजसोले बुधवारका दिन मनाउनेछन् जबकी पहाडमा आईतबारै मनाइयो । तराई मधेसमा जनकपुर बाहेक अन्य क्षेत्रमा सोमबारकै दिन होली मनाइयो । यस्तो अवस्थामा जनकपुरधामाबासिले कुनै विदा पाएनन्।

यी समस्या समाधानको उपायहरु :

(१) संघीय सरकारले यस्ता पर्वहरुमा क्षेत्र उल्लेख नगरी कि त दुई दिने राष्ट्रिय विदा दिनुपर्छ वा प्रदेश सरकारसंग संयोजन गरि विदा कलेन्डर मिलाउनुपर्छ ।
(२) जनकपुरधाम जस्तो धार्मिक तिर्थस्थलमा स्थानीय पालिकालाई केही विदाको अधिकार दिनुपर्छ।

(स्तम्भकार यादव जसपाका नेता हुन् ।)