जनकपुरधाम, चैत १३ गते ।

धनुषामा सवारी दुर्घटनामा दुईजना युवकको ज्यान गएको छ । छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ। जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ।

आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियाँ गाउँपालिका ६ स्थित प्रदेश-२-०२-००४ प ६९४७ मोटरसाइकललाई बी एल १२ सी ०९४४ भारतीय नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि लक्ष्मीनियाँको सेन्ट्रल हस्पिटल लगिएको थियो। उपचारको क्रममा आज बिहान ७ बजे उनको मृत्यु भएको थियो। कार चालक दुर्घटनापश्चात फरार भएको र उनको खोजी कार्य जारी रहेको डिएसपी अवाले बताए।

‘तीव्र गतिकै कारण दुर्घटना भएको देखिन्छ। ठक्कर दिने कार चालकको पहिचान भइसकेको छ हामी खोजी गर्दैछौं,’ उनले भने।

सोमबार साँझ जनकपुर ढल्केवर सडकखण्डमै मिथिला नगरपालिका २ स्थित विश्वकर्मा चोकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक जना युवकको मृत्यु भएको थियो।

मृत्यु हुनेमा मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने २२ वर्षीय जितेन्द्र महतो रहेका छन्। दुर्घटनामा सोही ठाउँ बस्ने २५ वर्षीय सरोज कुमार महतो गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जनकपुरस्थित न्युरो अस्पतालमा उनको उपचार भइरहेको डिएसपी अवाले बताए।

जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको प्र-२-०२-००१ च ०७१२ नम्बरको एम्बुलेन्सले महतोद्वय सवार ज ११ प १९९ नम्बरको मोटरसाइकलाई सोमबार साँझ ठक्कर दिएको थियो। दुबै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।