दिवेश कुमार महतो
जनकपुरधाम, चैत १३ गते ।
मुस्लिम सामुदायबाट थोरै महिला छिन् जो घरबाट बाहिर निस्किने मौका पाउँछिन् । पीतृसत्तात्मक परिवार एवं समाजका अनेक ताना सुनेर हँसियाको धारमा कदम राखेझैं आफ्नो पाइला अघि बढाएकी पात्रमध्येका एक हुन्, फाएजा फहमिदा । महोत्तरीको सम्सी गाउँपालिकामा जन्मेकी उनी पत्रकारितामा छुट्टै पहिचान बनाउन अग्रसर छिन् ।
आइतबार जनकपुरधाममा नुसानले आयोजना गरेको एक कार्यक्रममा आफ्नो संघर्षको कथा सुनाउँदा उनको अनुहारमा खुशीयाली र भावुकता एकसाथ झल्किरहेको थियो । सुरुवाती शिक्षा उनले मदरसाबाट पाइन् । तर उनकी आमाले छोरीको पाइला शिखर चुमेको हेर्न चाहिन्थन् । समाजबाट कैयन टिकाटिप्पणी सुन्दै उनकी आमाले उनलाई स्कुल पठाइन् । पछि परिवारसँगै उनी जनकपुर बस्न थालिन् ।
पढ्न जाँदा उनले लगाएको पहिरणमै समाजले टिप्पणी गर्न थाले । तर केही गरेर देखाउने अठोट लिएर अघि बढेकी उनले ती सबै टिप्पणीलाई अनदेखा गरी अघि बढिन् । पढाइ र व्यवहारले मोहित गरेपछि फाएजाकी परिवार उनको साथमा उभिए । कसैको परबाह नगरी उनी पढाइमा मिहिनेत गर्न थालिन् ।
‘मलाई केही बन्ने रहर जाग्यो । पत्रकारितामा ग्ल्यामर देखेर पनि म यो पेशामा आकर्षित भएँ । तर जति सजिलो सोचेको थिएँ त्यती रहेनछ । धेरै मिहिनेत गर्नुपर्दो रहेछ यो पेशामा । म संघर्ष गरिरहेकी छु । एकदिन पक्कै राम्रो पत्रकारको रुपमा गनिनेछु,’ उनले भनिन्, ‘पत्रकारितामा कदम राखिसकेपछि पनि मलाई थाहा थिएन् यो समाजले यो पेशालाई नकरात्मक भावनाले हेर्दो रहेछ । झन महिलाले यो पेशा अंगाल्दा त उनको चरित्रमाथि नै जज गर्ने बिडम्बना देखे ।’
काम गर्ने क्रममा समाजका कैयन व्यक्तिले परिवारका सदस्यलाई आफ्नो बारेमा समेत नकरात्मक कुरा बताएको देखेर हैरान भएको उनले सुनाइन् । ‘घरबाट निस्केर रिपोटिङ गर्नु मेरो लागि सहज थिएन् । बाहिर निस्केपछि तिम्रो छोरीलाई फलानोसँग बोलेको देखे, मोटरसाइकल चढेर घुमेको देखे जस्ता कुराहरु मेरो घर पुग्न थाल्यो,’ फाएजाले थपिन्, ‘तर मैले अठोट छाडिन र हिम्मत हारिन् । आमाबुवाले पनि साथ दिनुभयो । मेरो हौसला बढाउनुभयो । म इमान्दारिताका साथ आफ्नो लक्ष्यतर्फ अघि बढेकी छु ।’
संघर्षकै कथा सुनाएकी समाजिक अभियन्ता सुभद्रा आलेले आफ्ना दुःखका दिन सम्झिदा भावुक हुन्छिन् । तीन दशक अघिको कुरा हो, जतिबेला महिलालाई घरबाटै बाहिर निस्किन बन्देज लगाइन्थ्यो । त्यसबेला सुभद्रा आलेले समाजिक विद्रोह गरिन् । दुईजना छोराछोरी जन्मिसकेपछि उनी प्रहरी सेवामा प्रवेश गरिन् । उनी जागिर गर्न निस्किदा समाजमा अनैकौं टिप्पणी सुरु भयो तर उनकी श्रीमानले भने कसैको परबाह नगरी साथ दिए । कामको शिलशिलामा पनि उनले कम्ता चुनौतीको सामना गरिनन् ।
पुरुष प्रधान समाज र प्रहरी संगठनमा उनी कानुनले प्रत्याभुत गरेको महिलाको हक र अधिकारका लागि लडिन् । पछि अवकाश प्राप्त गरिसकेपछि सुभद्रा महिला अधिकार रक्षक संजालधनुषामा आवद्ध भएर काम गर्न थालिन् । अहिले उनी जिल्ला प्रहरी कार्यालय धनुषामा महिला सेलमा समन्वयकर्ताको भूमिकामा काम गरिरहेकी छिन् ।
‘महिला सेलमा मैथिली बुझ्ने र बोल्ने कर्माचारीको अभाव छ । मधेसी महिलाहरु प्रहरी प्रशासन मा थौरै लागेका छन् । पहिले धेरै गाह्रो थियो प्रहरी प्रशासनमा छिर्न । अहिलेका भाइबहिनीलाई स्वच्छोले जानसक्ने वातावरण छ,’ उनले भनिन् ।
कार्यक्रममा सहभागी अर्की वक्ता ओरेक नेपालकी धनुषा संयोजक बिना सिंहले महिलाहरु हरेक क्षेत्रमा सहभागी भएतापनि नेतृत्वपंक्ति सम्म नपुग्नुको मुख्य कारण पितृसत्तात्मक सोच रहेको उल्लेख गरिन् ।
‘मेरो जन्म भएदेखि नै विभेदको सामना गर्नुपर्यो । म काली भएर सबैले मलाई सुन्दर भनेर सम्बोधन गर्थे,’ आफ्ना संघर्षको कथा सुनाउँदै उनले भनिन्, ‘पछि मेरो बुवाले मेरो नाम विना राखदिनुभयो । मलाई यो पेशामा आबद्ध भएपछि घरको मानिस भन्दा गाउँका मानिसले धेरै तनाव दिन थाले । बुवालाई जहिले नि तेरो कालो छोरीको विवाह कसरी हुन्छ भनेर प्रश्न गरिन्थ्यो । लाग्थयो मेरो बुवाभन्दा पनि गाउँका मान्छेहरूलाई मेरो बिहेको टेन्सन थियो।’
बर्दिबास नगरपालिकास्थि पशुपतिनगरमा जन्मेकी उनको विवाह जनकपुरको सोनापडामा भयो । तर विवाहपछि पनि उनले कम्ता संघर्ष गर्नु परेन् ।
काम गर्दै जाँदा कैयन पटक प्रहरी कार्यालयमा दुर्व्यवहार सहनु परेको उनले बताइन् ।
‘छोरीले काम गर्न सक्छ र भनेर प्रश्न आउँछन। म एकछिन सोच्न बाध्य हुन्छु । राज्य संयन्त्र पुरुषवादी र पितृसत्तात्मक सोचले महिलाहरुको हक अधिकार पुरुषले मात्र हैन संविधानले पनि कुण्ठाएको छ,’ उनले थपिन् ।
अङ्ग्रेजी विषयकी शिक्षक समेत रहेकी नुसानका सदस्य आस्था कुमारी चौधरीले महिलाहरू सङ्घर्षील प्रवृतिले मात्रै यहाँसम्म आइपुगेको बताइन् ।
‘महिलालाई गाउँघरबाट निस्कन समेत धेरै ग्राहो छ । पढ्नु त पहिले टाढाको कुरा थियो। ठुलो भयो कि बिहे गर्नुपर्छ भनेर कुरा आउन थाल्छन्। चुनौती त छँदैछ, काम गर्ने मानिसको टिकाटिप्पणी आउनु स्वाभाविक नै हो। त्यसको धेरै परबाह गर्नु हुँदैन बस आफु ठिक हुनुपर्छ,’ उनले थपिन् ।