जनकपुरधाम, चैत ८ गते ।

धनुषामा साथीहरुसँग विवादको क्रममा एक युवकको हत्या भएको छ । बुधवार राति बियर खाएपछि विवाद हुँदा जनकनन्दनी गाउँपालिका २ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको हो ।

उनको हत्या भएको स्थान भारतीय सिमाभन्दा ५० मिटरको दुरीमा पर्छ । बुधवार रातिसँगै बियर खाएका साथीहरुले चक्कुले घाँटी रेटेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार हत्यामा संलग्न सोही ठाउँमा बस्ने मृतकका दुई साथीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ छन्।

‘रोजा सकेर तीनै जना बियर खान गएछन्। फर्किने बेला त्यो पैसा तिर्ने विषयमा भनाभन भयो। मोबाइलमा भिडियो हेर्ने विषयमा पनि विवाद भयो अनि एउटाले चक्कु निकालेर कैफको घाँटीमा प्रहार गरे,’ डिएसपी अवाले भने।

गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर पुर्याएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि परिवारजनले राति अढाइबजेतीर शव घर ल्याएका थिए ।

कैफमाथि चाकु प्रहार उनको घरदेखि करिब ४० मिटरकै दुरीमा भएको थियो । हत्या आरोपी दुबै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।