जनकपुरधाम, चैत ६ गते ।

मधेश प्रदेशको नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले पार्टीका अन्य सांसदहरुलाई थाहै नदिई मन्त्री बनेका छन् ।

सांसदहरुसँग सोमवार विहानैदेखि सम्पर्क बिहीन भई गुपचुप तरिकाले उनी मन्त्री बनेर पद तथा गोपनियताका सपथ लिएपछि सांसदहरु भित्रभित्रै आक्रोशित बनेका छन् । यद्दपी पार्टीको अनुशासनको कारबाहीमा पर्ने डरले कोही सांसदले सार्वजनिक रुपमा आक्रोश पोख्न सकेका छैनन् ।

वर्तमान सत्तारुढ दलहरुबीच भएको सहमती अनुसार मधेश प्रदेशमा एमालेले चारवटा मन्त्रालय पाएको छ । भौतिक पुर्वाधार तथा विकास, शिक्षा तथा संस्कृति, गृह तथा सञ्चार र स्वास्थय तथा जनसंख्या मन्त्रालय एमालेको भागमा परेको हो ।

जसमा एक राज्यमन्त्री समेत एमालेले राख्न पाउने दलहरुबीच सहमती छ । केन्द्रिय नेतृत्वले मन्त्रीहरुको नाम समेत टुंगो लगाइसकेका थिए । तर अन्तिम समयमा आएर सोमवार बेलुकी दलका नेता यादवले मात्रै मन्त्री नियुक्त भए र प्रदेश प्रमुखले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

शारदादेवी थापा, राजकुमार लेखी, लखनलाल दास र सत्रुधन सिंहलाई मन्त्री बनाउने निर्णय केन्द्रिय नेताहरुले गरेको एक सांसदले बताए । ‘माथि जसरी थोरै समय मन्त्री भएर समीकरकण फेरिँदा हट्नु परेका मन्त्रीलाई दोहोर्‍याइयो। त्यहीअनुसार प्रदेशमा पनि पहिले मन्त्री भएकालाई नै अवसर दिने कुरा भएको थियो,’ छलफलमा पुगेका एमाले मधेसका एक नेताले भने, ‘त्यसबेला संसदीय दल नेता मन्त्री नबन्ने कुरा उठेको थियो। तर उहाँ सोमबार सुटुक्क मन्त्री हुनुभयो। आलोपालो मुख्यमन्त्री बन्दा संसदीय दल नेता मुख्यमन्त्री बन्ने कुरा थियो।’

दोस्रो चरणमा भने अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले मधेसका नेताहरूले छलफल गरेका थिए। त्यसक्रममा चार जना मन्त्री बन्ने तय भएको थियो। ‘संसदीय दल नेता यादव मन्त्री नबन्ने अध्यक्ष ओली निवासको छलफलको पनि निष्कर्ष थियो,’ ती नेताले दाबी गरे, ‘तर महासचिव शंकर पोखरेलले भने यादवलाई मन्त्री बनाउनुपर्ने अडान राख्नुभएको थियो।’

यादवले शपथ लिन पुगेपछि मात्रै एमाले पनि सरकारमा सामेल भयो भन्ने जानकारी पाएको एमालेका सांसदहरू बताउँछन् । एमालेका अर्का प्रभावशाली नेताका अनुसार केन्द्रीय नेतृत्वबाट एकैपटक चार जना मन्त्रीले शपथ लिने निर्देशन थियो। तर बाँकी सांसदहरुलाई थाहै नदिई मोबाइल स्वीच अफ गरेर संसदीय दल नेताले सुटुक्क मन्त्री बने ।

तर मन्त्री यादवले भने आफू एमाले संसदीय दल नेता भएकोले मन्त्री बन्ने निर्णयमा पुगेको बताए । उनकाअनुसार केन्द्रिय नेतृत्वसँग छलफल गरी बाँकी सांसदहरुलाई मन्त्रीमण्डलमा सामेल गराइने छ । मन्त्रीको आकांक्षी धेरै भएकाले बाँकी मन्त्रालयको जिम्मेवारी कसलाई दिनेबारे केन्द्रिय पदाधिकारीले टुंगो लगाउने उनको भनाई छ । मन्त्री बनेका यादव निकट एक एक नेताका अनुसार ज्योतिषको सल्लाहमा उनले हतारमा मन्त्री बनेर सोमवार साँझ शपथ लिएका हुन् ।
‘ज्योतिषले जसरी पनि सोमवारै सपथ लिने उत्तम साइत परेको भनेपछि उहाँ मन्त्री हुनुभएको हो । अर्को दिन साइत राम्रो नदेखेर उहाँ हतारिनुभयो,’ ती नेताले जनकपुर न्युजसँग भने ।