जनकपुरधाम, चैत ४ गते ।

बारामा चोरी गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको फेटा गाँउपालिका वडा नम्बर ६ स्थित पुरैनिया बस्ने ३४ वर्षीय नक्की भुट्टा ठकुराई भन्ने मोहमद जाबेद आलम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी बाराका प्रवक्ता डिएसपी दधिराम न्यापानेका अनुसार बारा जिल्ला अदालतले आलमलाई चोरी मुद्दामा ५ महिना ४ दिन कैद र १० हजार रुपैँया जरिवाना तिराउने फैसला गरेको छ ।
चोरीको अभियोग लागेदेखि उनी फरार भइ लुकिछिपि बस्दै आएका थिए ।
प्रहरी कारवाहीको सिलसिलमा शनिवार ईलाका प्रहरी कार्यालय छतवा, बाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका आलमलाई आइतवार प्रहरीले जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।