जनकपुरधाम, चैत ४ गते ।
रौतहटको परोहा नगरपालिका खाप चोकस्थि रहेको शिव मनी ट्रान्सफरमा लुटपाट गर्दै संचालकमाथि गोली प्रहार गरेका तीनजना लुटेरालाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रवार दिउँसो घटना लगतै पक्राउ परेका तीनैजना भारतीय नागरिकलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका तीनैजना लुटेराले मनी ट्रान्सफर लुटपाट गर्ने योजना र हतियारहरुबारे कैयन कुराहरु खुलाएका छन ।
पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चिरैया थाना दिपही गाउँका १९ वर्षीय मुनिष भन्ने मुनिफकुमार यादव, सोही ठाउँ का १८ वर्षीय राधा भन्ने राजकुमार पासवान र २० वर्षीय चुनुकुमार सिंह भन्ने चन्द्रभान सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
उनका अनुसार तीनैजना मनी ट्रान्सफरमा स्वचालित पेस्तोल र कटुवा बोकेर आएका थिए । काउन्टरमा बसेका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गर्दै हतियारको बलमा उनीहरुले पैसा लुटेका थिए ।
लुटेको रकम लिएर निस्कने क्रममा नितेशले अवरोध गरेपछि आपराधिक समूहले गोली प्रहार गर्दा साहको कञ्चटमा लागेको थियो। साहलाई तुरन्त उपचारका लागि अस्पताल पठाइयो । अहिले उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।
शिव मनी ट्रान्सफरमा लुटपाट गर्न आज आज भन्दा तीन महिना अगाडि नै योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले लिएको बयानमा यसको मुख्य नाइके चन्द्रभान सिंह रहेको पाइएको छ ।
प्रहरीका अनुसार सिंहले केही महिना अगाडि शिव मनी ट्रान्सफरको निगरानी गरेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिंहको बयान छ,‘त्यस दौरान मनी चेन्जरमा गार्ड नभएको देखे, पैसा कुन कुन बेला बढी आउने रहेछ त्यो वाच गरे । कुन समयमा लुटपाट गर्ने सबै रेकी गरिसकेपछि पुनः काममा फर्के ।’
प्रहरीका अनुसार आजभन्दा करिब ३ महिना अगाडि भारतीय नागरिक सिंहले शिव मनी ट्रान्सफरको रेकी गरेका थिए । चन्द्रभान सिंह भारतको गोवामा एउटा क्लबमा सेक्युरेटी गार्डको काम गर्दै आएका थिए । उनले बिहारमै एउटा बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परी कारागारमा थिए । तीन महिना अघि मात्रै उनी रिहा भएर आएका थिए । पछि उनी फेरि गोवा पुगेर काम सुरु गरे । १५ दिन अघि मात्रै सिंह घर फर्किएको अनुसन्धानबाट खुलेको डिएसपी गिरीले बताइन्।
गोवा बसाइकै क्रममा पक्राउ परेका अन्य दुई जनासँग इन्स्टाग्राममा सम्पर्क गरेर लुटपाटको योजनाबारे छलफल गरी पाँच दिन अघि घर आएर उनीहरूले पुन : शिव मनी ट्रान्सफरको रेकी गरेका थिए ।
शुक्रवारको घटनामा मुनिफकुमार यादव र चन्द्रभान सिंहले हतियार लिएर मनि ट्रान्सफरमा प्रवेश गरेको देखिन्छ । पासवान भने खाली हात भित्र गएको त्यहाँ रहेको सिसिटिभी फुटेजमा देखिएको छ।
सिसिटिभीमा दुई जनाले हतियार बोकेको देखिएको तर पक्राउ परेपछि उनीहरूको साथबाट एउटा हतियार मात्र फेला परेपछि पुनः दशगजा क्षेत्रमा सर्च गर्दा बाँसघारीमा पाँच राउन्ड लोड गरिएको स्वचालित पेस्तोल बरामद भएको थियो । गोली प्रहार गर्दै लुटपाट भएको सूचना पाए लगतै नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय भएका थिए ।
अपराधीहरू घटना लगतै सीमापारी भाग्ने आशङ्कामा तत्कालै सीमा क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । लुटेरा भागेको सूचना पाएपछि स्थानीयहरूले समेत उनीहरुलाई लखेटे । स्थानीयकै सहयोगमा दशगजा क्षेत्रबाट तिनै जना अपराधीलाई नियन्त्रणमा लिएको डिएसपी गिरीले बताइन् ।
लुटपाट गर्न उनीहरु भारतीय नम्बर बीआर ०६ सीएल ९७९६ अपाचे मोटरसाइकल चढेर नेपाल छिरेका थिए । पक्राउ परेका लुटेराले ल्याएका एक राउन्ड खोका, एक थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएम कैलिवर भएको गोली थान १, ७।६२ एमएम को गोली अर्ध स्वचालित पेस्तोल थान एक र सोमा लाग्ने म्याग्जिन एक थान र सोको गोली ५ राउन्ड र फायर भएको गोली एक थान तथा लुटपाट गरिएको एक लाख २५ हजार रुपैँया बरामद भएको छ ।
पक्राउ परेका तीनैजना अपराधीलाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।