दिवेश कुमार महतो

जनकपुरधाम, चैत ३ गते ।

जनकपुरमा कुशवाहा समुदायका सयौँ व्यक्ति एकै ठाउँमा भेला भएर होली खेलेका छन् ।
शनिबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रको सभाहलमा उनीहरुले होली खेलेका हुन् ।
कुशवाहा फाउण्डेशनको दोस्रो वार्षिकोत्सव तथा होली मिलन कार्यक्रममा एक अर्कालाई शुभकामना आदान प्रदान गर्दै कुशवाहा समुदायका व्यक्तिहरु रंग अबिरमा रंगिएका थिए ।
कुशवाहा फाउण्डेशनका अध्यक्ष विजय कुमार महतोको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरु जोगिराका साथै होलीका गीतमा झुम्मिएका थिए ।
कुशवाहा जातिको इतिहास धेरै पुरानो रहेतापनि पुस्तकहरूमा यसको उपलब्धता नभएको प्रति उपस्थिति वक्ताहरुले दुःख व्यक्त गरेका थिए ।
वक्ताहरुले कुशवाहा जातिको इतिहास, लेख सहितको पुस्तक लेखनतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा मधेश प्रदेशसभा सदस्य हरिनरायण महतो, मगही भाषा उत्थानका अन्तराष्ट्रिय अध्यक्ष बिर बहादुर महतो, नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष रामकुमार महतो,हिमालय युवा क्लब नक्टाझिजका पुर्वअध्यक्ष अरुण कुमार महतो, विभिन्न पालिका का उपप्रमुख र वाडा अध्यक्षहरु लगायत कुशवाहा समुदायका अगुवाहरुको उपस्थिती थियो ।