जनकपुरधाम, चैत २ गते ।

महोत्तरीमा फागुन महिनासम्म अनुचित लेनदेन (मिटर ब्यजा) पीडित दावी गर्नेहरुले २ हजार ८ सय ३० वटा निवेदन दर्ता गराएका छन् ।

दिएको ऋणको कपाली तमसुक कागज पाँच गुणासम्म बढी रकम बराबरको बनाएर गैरकानुनी रुपमा ऋणीसँग अशुली गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा यति धेरै संख्यामा निवेदन दर्ता भएको हो ।

साहु महाजनले उठिबास गराउनेगरी अनुचित रकम अुशल गरेको भन्दै ऋणीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि हाल सम्म १ हजार ३ सय ३९ वटामा छलफल भएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये ७ सय ५९ वटा निवेदनमाथि छलफल गरी मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले बताए ।

उनका अनुसार मिलापत्र वापत हालसम्म ११ करोड १५ लाख ३८ हजार ४ सय९२ रुपैैँया फिर्ता भएको छ ।

यसका साथै अवैध रुपमा ऋणको जमिन कब्जा गरेका साहुहरुबाट २० बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएको उनले बताए ।

यद्दपी हालसम्म निवेदन दिएका आधाभन्दा पीडितले न्याय पाउन सकेका छैन् । आफुलाई पीडित दावी गर्दै दिएको १ हजार ४ सय ९१ वटा निवेदनमा छलफल भइ टुंगो लाग्न बाँकी रहेको प्रहरीको भनाई छ ।

गत फागुन महिनामा मात्रै अनुचित लेनदेन समबन्धी जिल्ला प्रहरी कार्यालयमा परेको निवेदनमध्ये १ सय ८६ वटा उपर छलफल भएको छ ।

त्यसमध्ये १ सय ५५ वटा निवेदनमा साहु र ऋणीबीच मिलापत्र भएको र सो वापत ४ करोड ९० लाख ११ हजार ३ सय ३४ रुपैँया फिर्ता भएको डिएसपी गिरीले बताए ।

उनका अनुसार फागुन महिनामै पीडितहरुले ७ बिघा १३ धुर जमिन समेत फिर्ता पाएका छन् ।

बाँकी निवेदनहरुमाथि समेत छलफल गरी टुंगो लगाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।