जनकपुरधाम, चैत १ गते ।

सिरहामा फेरि एकजना महिलाको हत्या भएको छ ।

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरकी अन्दाजी ४० वर्षीया कुनिया देवी दासको बिहीवार दिउँसो साढे ३ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेका अनुसार श्रीमान् श्रीदेव दासले कुनिया देवीको घाँटीमै खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

खुकुरी प्रहारबाट कुनियाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीले श्रीदेवलाई घटना लगतै पक्राउ गरेको छ ।

घरासयी विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

अनुसन्धानपछि मात्रै हत्याको कारण खुल्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहामा एक साताभित्रै यो तेस्रो महिलाको हत्या भएको हो ।

तीनैजना महिलाको श्रीमानले नै हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको डिएसपी पाण्डेले बताए ।

आइतवार सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको थियो ।

घाँस लिन कमला नदीको बगरतिर गएको बेला श्रीमान रामउदगार साहले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

गोलबजार नगरपालिका-६ बस्ने ३५ वर्षीया अनिता साहको पनि गत शुक्रबार हत्या भएको थियो ।

श्रीमान महेन्द्र साहले धारिलो हतियार र टाउकोमा सिलौटा प्रहार गरि उनको हत्या गरेको खुलेको डिएसपी पाण्डेले बताए ।
श्रीमतीले बाहिर अनैतिक सम्बन्ध राखेको आशंकामा उनले श्रीमतीको हत्याको गरेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेशमै आफ्नै परिवारका सदस्यबाट महिलाको क्रुर हत्या हुने क्रम रोकिएको छैन् ।

परिवारकै सदस्यबाट प्रदेशकी महिला सबैभन्दा धेरै असुरक्षित रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांकले समेत देखाएको छ ।