दिवेश कुमार महतो
जनकपुरधाम, फागुन ३० गते ।
पिठ्युमा झोला बोक्दै बिधालयको स्टेजबाट सांगीतिक यात्रा सुरु गरेका जनकपुरका श्रिष ठाकुर नेपाल आइडलको स्टेजसमा पुगेपछि चौतर्फी चर्चामा छन् ।
दिदिको प्रेरणाबाट गायक बनेका उनी नेपाल आइडलको फिजिकल अडिसनबाट स्टेज सम्मको यात्रा तय गरेका छन् । मंगलबार मात्रै उनले गाएको नेपाली गीत सहितको भिडियो एपिवन टेलिभिजनबाट सार्बजनिक भयो जुन अहिले समाजिक संजालमा भाइरल बनेको छ ।
पुस २७ गते महोत्तरीको बर्दिवासमा भएको फिजिकल अडिसनबाट छनौट भएर जनकपुरधाम देखि काठमाडौं सम्मको यात्रा तय गरे। नेपाल आइडलमा उनले गाएको गीत निर्णयकर्तालाई मन पर्यो र उनी अर्का चरणका लागि छनौट भए।
उनी त्यहाँसम्म पुग्नु पछाडीका श्रेय आफ्ना दिदीलाई दिन्छन् । सानै छँदा उनले आफ्नो १९ वर्षिय दिदि श्रुती ठाकुरलाई गुमाए । श्रुती गीत गाउनमा एकदमै सिपालु थिइन। बुवासँग गीत गाउन विवाह व्रतबन्ध र विभिन्न समारोहहरुमा उनी जाने गर्थिन् । श्रुती क्यान्सरबाट पीडित थिइन् ।
औषधि उपचार गराएपनि उनी क्यानसरबाट धेरैदिन लड्न सकिनन् । श्रुतिले आफुसँगै भाइलाई पनि गायक बनाउने सपना देखेकी थिइन् । ‘
दिदिले मलाई पनि गायक बन्न उत्प्रेरित गर्नु हुन्थ्यो । उहाँले म भन्दा पनि राम्रो गीत गाउनुहुन्थ्यो। मेरो भाई म भन्दा राम्रो गायक बनोस् भनेर मेरो दिदिको सपना थियो।
आफुले गर्न नसकेपछि ममाथि उहाँले आश लगाउनु भएको थियो,’ श्रिष भन्छन्, ‘दिदि १० क्लासमा पढ्दाखेरि क्यान्सरले छोयो । उपचार हुँदा एकचोटी ठिक पनि भैसकेकोजस्तो देखियो तर ३ वर्षपछि उहाँ बित्नु भयो। गित गाँउदा पनि दिदिको फोटो हेरेर गित गाउँछु । फोटो भएन भने मनमै दिदिको इमेज सम्झेर गित गाउछु।’
श्रीषको जिवनमा नेपाल आइडल अहिलेसम्मकै ठुलो सफलता हो । उनका बुवा अहिले पनि गीत गाउँछन् । छोरालाई आफुसँगै गीत गाएको देख्दा बुवा सुनिल ठाकुरको मन प्रफुल्लित हुन्छ ।
‘दुबैजना भाइबहिनी फुर्सदको बेला कोठा बन्द गरेर गित गाउथ्यो । एकआपसमा धेरै मिलेर बस्थे । दुबैले राम्रो गाउँथे पनि । त्यो देखेर मलाई बहुतै खुशी लाग्थ्यो,’ सुनिलले भने ।
श्रुतीले आफु एकदिन राम्रो गायीका बन्ने आमालाई सुनाउँथिन् । ‘श्रुतीको फिल्मी गायिका बन्ने सपना थियो । मृत्यु हुनुअघि उनले मलाई बारम्बार भन्थिन कि मम्मी तिमी चिन्ता नगर म निको हुन्छु । निको भएपछी ठुलो गायिका बन्छु। दिदि को त्यो कुराहरु सुन्दा मेरो छोराको मनमा पनि त्यहि कुरा बसिसक्यो । दिदिले यस्तो भन्थ्यो । म त्यो पुरा गरेर देखाउछु भनेर श्रिषले भन्न थाले, आमा प्रियंका ठाकुरले भनिन्, ‘श्रीषको मिहिनेत हेरेर मलाई लाग्छ कि छोरीले देखेको सपना उसले पुरा गर्छ ।’
श्रिष विगत पाँच वर्षदेखि गायनमा सक्रिय छन् । पारिवारि माहोलले गर्दा सानै उमेर देखि उनको संगीतमा रुची भएको हो । जनकपुरधाम उपमहानगरपालिका -१ रेल्वे स्टेशन मोहल्लामा बस्दै आएका श्रीषको आम्दानीको स्रोत नै गीत गायन हो ।
उनी जनकपुरधामको मोनाष्टिक आवासीय माध्यामिक बिधालयमा वाणिज्य संकाय तर्फ कक्षा १२ मा अध्ययनरत छन् । विधालयबाट घर फर्किएपछि गित संगीत सुनेर लेख्ने र आफ्नो स्वर दिएर गित गाउने गर्छन्। उनी गीत संगीततर्फ कुनै पढाइ भने गर्न पाएका छैनन् ।
बुवासँगै उनी गीत गाउन बस्छन्।
श्रीषले पढ्ने बिद्यालयमा कार्यक्रमहरु हुँदा गीत गाउँछन् । उनी अध्ययरत विधालयमा हुने सबैजसो कार्यक्रमहरुमा उनको स्वर सुनिन्छन्।
जनकपुरधाम सहित वरिपरिका विभिन्न क्षेत्रमा हुने साहित्य महोत्सव र कल्चर फेस्टिभलहरुमा उनको दमदार प्रस्तुति हुने गर्छन्। स्थानिय स्तरमा आयोजना हुने स्टेज सो प्रोग्रामहरुमा उनी आफ्नो स्वरले दर्शक झुमाउने गर्छन्।
उनले मैथिली, हिन्दि र नेपाली भाषाका गित प्रशस्त गाउँछन्। जनकपुरधामका केहि होटल रेष्टुरेन्ट तथा बारमा समेत सांगितिक प्रस्तुति हुँदा उनी आफ्नो स्वरले दर्शकलाई मोहित पार्ने गर्छन् । श्रिष आफ्नो बुवा सँग नेपाल भारतका विभिन्न स्थानहरुमा स्टेज सो गर्न जाँदा छोरालाई लिएर जान्छन्।