जनकपुर न्युज
जनकपुरधाम, फागुन ३० गते ।
महोत्तरीको तीन ठाउँमा डकैती गरेर फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका २ बस्ने कर्मेश्वर पासवान रहेको प्रहरीले जनाएको छ ।
महोत्तरी सहित अन्य ठाउँहरुमा समेत अपराधिक क्रियाकलाप गरी उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पासवानले गत असार २९ गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ स्थित रतवाडा, गत कात्तिक ९ गते राति महोत्तरी गाउँपालिका र सोनमा गाँउपालिका २ तरहारी स्थितमा रातिको समयमा भएको डकैतीमा संलग्न थिए ।
सहयोगीसँग मिलेर उनले ती डकैतीहरु गरेका थिए । ती घटनाहरुमा संलग्न तीनजना यसअघि नै यसअघि नै पक्राउ परिसकेका छन् ।
खोजतलास गर्ने क्रममा मंगलवार मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पासवानलाई पक्राउ गरेको थियो ।
उनलाई जलेश्वर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।