जनपुरधाम, फागुन २७ गते ।
विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि विधिवत् रुपमा शुरु भएको छ ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त तथा गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत् रुपमा शुरु भएको हो ।
फागुन कृष्णपक्षको औंसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा शुरु भएको हो । आज राति जनकपुरको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गर्नेछन् ।
फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाविहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत् रुपमा शुरुआत् हुने परम्परा छ ।
महाशिवरात्रिलगत्तै शुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने माध्यमिक परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालाको फागुन महिना उल्लास एवं भक्तिमय हुने भएको छ । धार्मिक झाँकी, भजनकीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट शुरु भई सीमावर्ती भारतीय गाउँ कलानेश्वर महादेव स्थान पुग्नेछ ।
परिक्रमामा सहभागीहरु क्रमशः फुलहरको गिर्जास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विसौल हुँदै पुनः कलानेश्वर र फागुन पूर्णिमाका दिन जनकपुर फर्कनेछ ।
मिथिलाविहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने यस धार्मिक यात्रालाई व्यावसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको साधुसन्तले बताउँदै आएका छन् ।
परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजनकीर्तन तथा सत्सङ्ग गरेर रात बिताउँछन् ।
नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीका १३ तथा भारतका दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।
यस परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन । यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ। आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ। मन्दिरहरु देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ। सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ। परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटीबिच मुद्दा मामिला समेत चलेको थियो। तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ। मिथिला महात्म १८औँ शताब्दीमा लेखिएको मानिन्छ। यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दीभन्दा पहिले नै शुरु भएको हुन सक्ने अनुमान गरिन्छ।
यस यात्राका सहयात्रीले नेपालको १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । परिक्रमामा भारतको आयोध्या, मथुरा, हरिद्वार, दरभङ्गहा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्य रुपमा सहभागिता हुने गर्दछ ।
परिक्रमामा सहभागी हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको पण्डित लालबाबु झाले बताए । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कलानेश्वर जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।