जनकपुर न्युज
जनकपुरधाम, फागुन २५ गते ।
बसमा सवार यात्रुलाई नशालु पदार्थ खुवाएर पैसा र मोबाइल चोरी गर्ने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित पुर्वी चम्पारण जिल्ला बेतीया थाना जोगापट्टी ग्राम मछरगाव बस्ने २७ वर्षीय अखिलेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।
गत बुधवार बाराको आदर्श कोतवाल गाँउपालिका-८ बस्ने उपेन्द्र मुखियाले नारायणघाटबाट वीरगंजतर्फ बस चढेर आउँदै गर्दा उनलाई बसमै सवार भएका साहले नशालु पदार्थ मिसाइएको मिठाई र बिस्कुट खुवाएका थिए ।
मिठाइ र बिस्कुट खाएको केही बेरमा मुखिया बेहोस भएपछि उनीसँग भएको ४१ हजार पाँच सय रुपैँया र एकथान मोबाइल साहले चोरेर वीरगंज बसपार्कबाट फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीलाई घटनाबारे सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले साहको खोजतलाशमा जुट्यो ।
त्यसक्रममा वीरगंज महानगरपालिका-१६ भानुचोक स्थितबाट साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए ।
उनका अनुसार साहको साथबाट ३७ हजार ४१० रुपैँया र चोरी भएको मोबाईल फेला परेको छ ।
उनी विरुद्ध चोरी सम्बन्धी कसूरमा सात दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।