जनकपुर न्युज

जनकपुरधाम, फागुन २२ गते ।

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालोपत्रे सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देव, इन्जिनियर मदन राय, सव इन्जिनियर सरोजकुमार यादवविरुद्ध मुद्दा दायर भएको हो ।

राजविराज मधुवापुर वडा कार्यालयबाट अर्जी टोलसम्मको तीन सय मिटर सडक कालोपत्र गर्ने क्रममा प्रक्रिया नपुर्याइ काम गरेको अख्तियारको दावी छ ।

तीन लाख ४७ हजार रुपैँया बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार गुन्जा कन्सट्रक्सन, खडक नगरपालिका–८ सप्तरीका प्रोपाइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि रू तीन लाख ४७ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।