मधेश प्रदेशको जनकपुरधाममा अवस्थित जानकी मन्दिर नेपालको एक प्रमुख धार्मिक स्थल हो ।
यस धार्मिक क्षेत्रलाई जनकपुरधामको नामले समेत चिनिन्छ । धनुषा जिल्लाको सदरमुकाम र प्रदेश २ को पनि राजधानी हो जनकपुर । ऐतिहासिक मिथिला राज्यको पनि राजधानी रहेको जनकपुरलाई जलेश्वर, मिथिलेश्वर तथ कुपेश्वर जस्ता शहरले सुरक्षित गरेको जनविश्वास छ । यस्तै ५२ मन्दिर र ७२ कुण्डको शहरको रुपमा पनि परिचित छ समग्र जनकपुर । नेपाल तथा भारतका हिन्दू धर्मावलम्बी माझ प्रख्यात जानकी मन्दिरको निमार्ण मुगल शैलीमा गरिएको थियो ।
वास्तुकला र धार्मिक सहिष्णुताको दृष्टिकोणले जानकी मन्दिर नेपालकै उत्कृष्ट मन्दिर हो । क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूला मन्दिर पनि यहि हो । ४९,५५५ वर्ग फिट क्षेत्रफलमा फैलिएको मन्दिरको उचाई ५० मिटर रहेको छ । प्राय मन्दिर प्यागोडा शैलीमा निर्माण गर्ने गरिए पनि जानकी भने मुगल तथा शिखर शैलीमा निर्माण गरिएको थियो ।
हिन्दू धर्मको पवित्र ग्रन्थ रामायणकी एक प्रमुख पात्र सीता अर्थात जानकीको नामबाट राखिएको जनकपुर मन्दिरको चर्चा भारतीय हिन्दू धर्मावलम्बीविच पनि रहेको छ । यस मन्दिरलाई भारतीय राजकुमारी वृषभानु कुमारीले ९ लाख चाँदीका सिक्का खर्चेर बनाउन लगाएकी हुनाले यसलाई नौलखा मन्दिर समेत भनिन्छ ।
इतिहासका अनुसार निसन्तान रहेकी वृषभानुले पुत्रलाभ गरेपछि भाकल स्वरुप मन्दिर निर्माण गरेकी थिइन् । मन्दिर निर्माण गर्न १७ वर्ष लागेको थियो । विसं १९५१ मा मन्दिरको निर्माण शुरु गरि १९६८ मा निर्माण सम्पन्न भएको थियो । मन्दिर निर्माण सम्पन्न भएको जम्मा १०७ वर्ष भए पनि यस भित्र रहेको राम र जानकीको प्रतिमा भने ७०० वर्ष पुरानो रहेको संस्कृतविदहरुले बताउँदै आएका छन् ।