ममता कुमारी बैठा
जनकपुरधाम, चैत ६ गते ।
रोजगारीको क्रममा श्रमिकले पठाएको रेमिटान्सले व्यक्ति र परिवारको आम्दानी बढेसँगै खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य, शिक्षा, आवास जस्ता महत्त्वपूर्ण आवश्यकतामा खर्च गर्न सक्ने नेपालीको क्षमता बढेको छ । यसले गर्दा नेपालीको जीवनस्तर उकासिएको छ । साक्षरता र शिक्षाको स्तर बढेको छ । पोषण र स्वास्थ्यको अवस्था पहिलेभन्दा राम्रो भएको छ । तर यो प्रगतिको मूल्य हजारौ नेपालीले रगत बगाएर चुकाउनु परेको छ ।
नेपालमा रोजगारी नपाउँदा बाध्य भएर विदेशिएका कैयन परिवारका लागि वैदेशिक रोजगारी अभिशापै बनेको छ । वैदेशिक रोजगार विभागबाट प्राप्त तथ्यांकाका अनुसार पछिल्लो १४ वर्षमा मात्रै ९ हजार ६६६ जनाको विदेशमा मृत्यु भएको छ । यद्दपी मृत्युका भने भिन्न कारणहरु छन् । मुटु रोगको कारण १ हजार ४७४ र हृदयघातको कारण ७ सय ३३ जनाको मृत्यु भएको छ ।
सडक दुर्घनामा १ हजार ३५९ जनाले ज्यान गुमाएका छन् भने १८७ जनाले आत्महत्या गरेका छन् । कार्यस्थलमा दुर्घटना भएर मात्रै ७५४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड—१९) को महामारीमा २०७ जनाले ज्यान गुमाएका थिए । प्राकृति रुपले २ हजार ७७ र अन्य कारणले २ हजार ८ सय जनाले १४ वर्षयता ९ हजार ६६६ जनाले ज्यान गुमाएको विभागको तथ्यांकमा उल्लेख छ ।
कतिपय व्यक्तिको त मृत्युको कारण थाहा नभएर गन्तव्य मुलुकबाट शव नेपाल पठाउँदा त्यसका साथ पठाइने कागजातमा त्यस्तो कारणै खुलाइएको पाइँदैन । विभागका अनुसार सबैभन्दा धेरै श्रमिक साउदी अरबमा ज्यान गुमाएका छन् । तर श्रमिकको सुरक्षाका लागि नेपाल सरकारले खासै पहल गरेको पाइँदैन् । सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित बनाउन र स्वदेशमै रोजगारीको सिर्जना गरी रोजगारीका लागि विदेश जान पर्ने बाध्यताको अन्त्य गराउने भन्दै आएको छ ।
रोजगारीको हक भनेर नेपालको संविधानको धारा ३३ मा मौलिक हकका रूपमा पनि उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानुनमा पनि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषय उल्लेख गरिएको छ । तर ती सबै प्रावधान कागजमै मात्र सिमित भएको लामो समयदेखि वैदेशिक रोजगारीमा बसेका धनुषाको बटेश्वरका सुरज महतोले बताए । ‘विदेशमा हाम्रो श्रमिक कसरी सुरक्षित हुने । कसरी ठगिनबाट जोगिने विषयमा सरकारलाई अहिलेसम्म ध्यान दिएको मैले देखेको छैन् । पछिल्लो समय श्रम शोषण पनि बढेको छ । मेरै कैयन साथीहरुको मृत्यु भएपछि उनीहरुको शवै फर्काउन पनि ढुंगा चपाएजस्तो अवस्था छ,’ उनले भने ।
पछिल्लो १२ बर्षमा मधेश प्रदेशबाट मात्रै बैदेशिक रोजगारीका लागि १ लाख ३९ हजार ७५४ व्यतिmहरु विदेश गएका छन । विभागको तथ्यांक अनुसार सप्तरी बाट १२७१४८ जना, सिरहा बाट १७८२३५ जना, धनुषाबाट २१६१२२ जना, महोतरी बाट १९६८९५ जना, सर्लाही बाट १२६६५६ जना, रौतहट बाट ७५७०२ जना, पर्साबाट ४५८६३ र बाराबाट ७३१३३ जना वैदेशिक रोजगारीमा गएका हुन् । रोजारीमा जाँदा ज्यान गुमाउने र ठगिने समेत मधेश प्रदेशकै रहेका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा काम गरिरहेको रेमी परियोजनाको सामाजिक पुनः एकिकरण अधिकृत रामकुमार कर्णका अनुसार पछिल्लो समय कम्पनिको माग भन्दा बढी व्यतिm विदेशिएका छन् ।
‘वैदेशिक रोजगारमा पठाउने एजेन्ट र मेनपावर व्यवस्थित छैन । एजेन्टलाई सरकारले खारेज गरिदिएपनि उनीहरुकै मार्फत बढी मानिस विदेश जाने गरेको देखिएको छ । यसले पनि असुरक्षा बढाएको हो,’ उनले भने । असुरक्षित वैदेशिक रोजगारीले श्रमिकको ज्यान त जोखिममा छँदैछ, परिवार र समाजमा विकृतिहरु समेत मौलाएको पाइएको छ । वैदेशिक रोजगारीले महिला हिंसा, अविश्वास र महिलामाथि लान्छना लगाउने गरेको घटनामा बढोतरी भएको पाइएको हो । महोतरी, बलवा नगरपालिका–१ बन्चौरीकी ३२ वर्षीया बबिता ठाकुर श्रीमान शंकर ठाकुर रोजागरीकालागि कतार गएपछि उनी घर छोडेर भाडाको कोठामा चार छोराछोरीसंग जनकपुर बस्दैछिन् ।
गाउँमा उनीमाथि अनाहकमा विभिन्न लालछना लगाएर हिंसा गरेपछि उनी छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने बहानामा बाध्य भएर सहर सरेकी छन् । तैपनि समाजको दृष्टिकोण र उनिहरुले गर्ने व्यवहारले दिक्क बनाएको उनले बताइन् । ‘छोराछोरी पढाउने बहानामा शान्ति खोज्दै गाउ छोडेर शहर आएपनि शान्तिपुर्वक चैनले पुरुषप्रधान समाजले बस्न दिएको छैन,’ बबिताले पीडा सुनाइन,‘ घरमा श्रीमानको साथ हुदा सबैले साथ दिन्छ । श्रीमान विदेश गएपछि कसैले पनि साथ दिदैन । उल्टै श्रीमानको अनुपस्थितिमा गलत दृष्टिकोणले हेर्छन । महिलामाथि न घरको सदस्यले विश्वास गर्छन, न त समाजले नै ।’
वैदेशिक रोजगारको क्रममा १९ वर्ष श्रीमान् बाहिर बस्दा सामाजिक अपहेलनाको शिकार हुँदा आफु जनकपुर बस्न बाध्य भएको उनले सुनाइन् ।
‘श्रीमान आउछँन जान्छन । म बच्चाको हेरचाह र पढाई लेखाइमा समय बिताउँछु उनले थपिनन्,‘घर व्यवहार चलाउन र आर्थिक भार उठाउन काम गर्न खोज्दा पनि गलत आरोप झेल्नु प¥यो ।’ समाजको बक्र दृष्टिले छोराछोरीलाई पढाउन समेत समस्या भएको उनले पीडा पोखिन् ।
लामो समय देखि श्रीमान वैदेशिक रोजगारकालागि साउदीमा बस्दा धनुषाको विदेह नगरपालिकास्थित गोबाराहीकी २८ वर्षीया अक्लिमा खातुनलाई अनावश्यक आरोप लाग्न थालेपछि उनले समेत गाउँ छोडेर जनकपुरमा डेरा लिइ बस्न थालेकी छिन् । ‘विहे हुनुघि नै ससुरा बित्नु भयो । सासु आमा पनि बित्नु भयो । आर्थिक अभाव भएपछि श्रीमान वैदेशिक रोजागारीमा जान बाध्य हुनुभयो । तर समाजमा एक्लै घर बाहिर हिँडडुल गर्दा पनि ममाथि अनाप सनाप आरोप लाग्न थाल्यो । अनि गाउँ छोड्न बाध्य भएँ,’उनले पीडा पोखिन् । वैदेशिक रोजगारीले समाजिक रुपमा महिलाले हिंसा भोगेका त यी प्रतिनिधिपात्र घटना मात्रै हुन् ।
वैदेशिक रोजगारीका कारण महिला परपुरुषसँग भाग्ने, हिंसा मात्रै नभई हत्या तथा बलात्कारको शिकार हुने गरेको घटनाको भने कुनै निकायसँग तथ्यांक नै छैन् । यसका साथै परिवारमा मानसिक तनाव, पारिवारिक बेमेल, बिखण्डन (छोडपत्र), परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, एक्लोपन महसुस गराउने र मनमा दिक्दारीको भावनाको गम्भिरता बढ्दै जाँदा आत्महत्याको भावना आउने र आत्महत्याको प्रयास गर्ने घटनाहरु समेत बढेको छ ।