कमलेश ठाकुर

जनकपुरधाम, चैत २ गते ।

महोत्तरीको औरही नगरपालिका–८, भोइलटिमकियाका रामचन्द्र साहले दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्थे ।

०५१ साल फागुण १२ गते घरभित्र साहकी श्रीमती रामप्यारी सुत्केरी व्यथाले छटपटाइरहेकी थिइन् । छिमेकी महिलाहरु स्यहरसुसार गर्दै थिइन् ।

रामचन्द्र छोरा हुने आशमा प्राङनमा खुसी पाल्दै ओहोरदोहोर गर्दै थिए । तर धेरै बेरसम्म उनको खुसी टिकेन । घरभित्रबाट महिलाको समूह कानेखुसी गर्दै निस्कियो । रामचन्द्रले सोधे– “छोरा भयो कि छोरी ?” उनीहरू बोलेनन् ।

महिलाको समूह केही नबोलेपछि छिमेकी भाउजूको नाम लिएर सोधे । ती महिलाले व्यग्ंय गर्दै ‘बोझ÷कमाउवा’ पैदा भएको जवाफ दिइन् ।

उनको जवाफले छोरी जन्मेकोे उनले सहजै बुझे । रामचन्द्रको अनुहार मलिनो भयो । त्यहाँबाट निराश हुँदै उनी त्यहाँबाट किनारा लागे । महिलाको समूह पनि निस्कियो ।

“छोरी जन्मेपछि मलाई कसैले स्याहारै नगरी कोठाबाट फर्किए । श्रीमान् पनि छोरीलाई हेर्न आएनन्,” त्यति बेलाको पीडादायी क्षण सम्झिदै रामप्यारीले सुनाइन, “घरका सबैजना चिन्तित भए । छोरा भए भोजभतेर गर्ने सोचेको परिवारले छोरीको न्वारन पनि राम्ररी गरेनन् ।”

माइतीले दबाब दिँदा छोरीको न्वारन भएको रामप्यारीले बताइन् । परिवारले न्वारनै गर्न हिच्किचाएका उनै ‘बोझ’ अहिले कलाकारिता क्षेत्रमा अब्बल कालाकारको परिचय बनाएकी छन् । काठमाडौंमा उनले देखाएको कलाकारिताले उनलाई स्थापित मात्रै गराएन, नाटक लेख्न र निर्माण गर्न सक्ने बनायो ।

केहीदिनअघि महिला श्रमिक दिवसको अवसरमा देशकै ठूलोमध्येका मिडिया अनलाइन खबरले उनलाई देशको ५० प्रभावशाली महिलाको रुपमा स्थान दिएको छ । सरिताले निर्देशन गरेको ‘फगुनिया’ नामको मैथिली नाटक उत्कृष्ट भई कैयन पुरस्कार पाएको छ ।

छोराको आशैआशमा ६ छोरी जन्माएका रामचन्द्र अहिले छोरीको कामले गदगद छन् । “पहिला हामी साइकल चढ्दा बुवाले हामीलाई कुट्नुुहुन्थ्यो । अहिले बाइक चलाउँदा खुुसी हुनुहुन्छ,” ३० वर्षीया सरिता भन्छिन्, “मेरा चारजना बहिनी अहिले साइकल चढेरै पढ्न र बजार जान्छन् ।”

तर सरिताले यो मुकाम सहजै हाँसिल गरेकी होइनन् । उनी जब ६ कक्षामा पढ्दै थिइन्, दिदी सुजितासँगै एउटै मण्डपमा विवाह गरिदिन उनका बुवा रामचन्द्रले घरमा छलफल गरे । सरिताले यो कुरा अस्वीकार गरिन् । त्यसयता कैयौँपटक उनको बिहेको कुरा भयो । सरितालाई अनेकन दबाब दिइयो । तर, सरिताले मानिनन् ।

जो बुबाकै प्रेरणाले नेतृ बनिन्

०३८ पुस २७ गते जब छोरी जन्मिन महोत्तरी भंगहा नगरपालिका–९, हरिनमरीका शान्तिदेवी र रमेश यादव निकै खुसी भए । पहिलो सन्तान छोरी हुँदा उनको परिवारसहित आफ्न्त पनि खुसी थिएँ । त्यो खुसी रमेशले छरछिमेकीलाई आफैँले सुनाए ।

पूर्वशिक्षक र प्रधानपञ्चसमेत रहेका रमेशले छोरीलाई शिक्षा र अन्य अवसरहरू दिन कञ्जुस्याईं गरेनन् । आफ्नी छोरी समाजमा भइरहेको दमन, शोषण वरुद्ध सशक्त रूपमा उभिऊन् भन्ने उनको सपना थियो ।

छोरीलाई सोहीअनुसारको शिक्षादीक्षा र अवसर दिन थाले । कालो कोट लगाएर समाजका विकृति विसंगतिविरुद्ध आवाज उठाउन उनले छोरीलाई कानुन विषय लिएर पढ्न प्रोत्साहन गरे ।

त्यही पथमा डो¥याए र सघाउन थाले । अहिले उनकी छोरी ४२ वर्षीया मञ्जुकुमारी यादव नेकपा एकिकृत समाजवादीकी सशक्त महिला नेतृ छन् । प्रदेश सांसदसमेत भइसकेकी उनी संसदमा एक साहसिक र सक्षम नेताका रूपमा काम गरिन् ।

“बुवालाई आर्दश मानेर यहाँसम्म आएँ । बुवाको साथ र सहयोग सधैँ मेरो लागि प्रेरणाका स्रोत छन्,” उनी भन्छिन्, “बुवाले हातमा कुचो होइन, किताब बोकेको राम्रो मानुहुन्छ । त्यसकै प्रतिफल हो, म जनताको मन्दिर संसद हुँदै यहाँ सम्म पुगे ।”

विद्यार्थी जीवनबाट राजनीतिमा प्रवेश गरेकी मञ्जु अन्याय, अत्याचारविरुद्ध सशक्त आवाज उठाइरहेकी छन् । समाजमा व्याप्त पितृसत्तात्मक सोच परिवर्तन हुन जरुरी छ र त्यसका लागि आफू स्वयंबाट सुरु गर्नुपर्ने उनी बताउँछिन् ।

लिंगका आधारमा होच्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्ने मञ्जुले पाँच वर्षअघि तत्कालिन आफ्नै पार्टीका सांसदले होच्याउँदा थप्पड हानेकी थिइन् । “मेरो घरमा कहिले पनि लिंगको अधारमा विभेद भएन । मेरो परिवारको सदस्यले कहिले पनि छोरी भनेर विभेद गरेको याद छैन,” उनले भनिन् ।

नेकपा (एमाले) निकट युवा संघमा केन्द्रीय सचिव भएर काम गरेकी उनीसत्य र महिलाको पक्षमा डटेर उभिने गरेकी छन् । लैंगिक र जातीय विभेदविरुद्ध आवाज उठाउने उनले गएको मंसिर १७ गते सूर्यनारायण ठाकुरसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् ।

सरिता र मञ्जु अवसर पाए सफलताको शिखर चुम्ने प्रतिनिधिमुलक महिला हुन् । उनीहरु जस्तै अन्य महिलाले पनि शिक्षा र अवसर पाए सफल हुन सक्ने छन् । तर यस विषयमा राज्य र अभिभावक जिम्मेवा हुनु पर्ने छन् ।

प्रदेश सरकारको आशमा महिला

मधेश प्रदेश सरकारले ०७५ माघमा किशोरीमाथि हुने हिंसा अन्त्य गर्ने र छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सुरु ग¥यो ।

अभियानअन्तर्गत अध्ययरत छात्रालाई साइकल वितरण, छोरी बिमा र हिंसाबाट जोगाउन आत्मरक्षा तालिमजस्ता कार्यक्रम समावेश गरिएको थियो । तर यी कार्यक्रम अहिले कार्यन्वयको अवस्था दयनीय छ ।

छोरीलाई शिक्षा नदिने, बालविवाह गर्ने र घरेलु हिंसा गर्नेजस्ता प्रवृत्ति निर्मूल गरी प्रोत्साहन गर्ने उद्देश्यले ती कार्यक्रमहरू ल्याइएको थियो । मुद्दा परेपछि अहिले बन्द छ । तर निष्पक्ष कार्यविधि बनाएर ती कार्यक्रमहरु पुनः सञ्चालनमा ल्याउनु पर्ने माग छ ।

यस्तै, छोरीलाई मूलधारमा ल्याउनका लागि प्रदेश प्रहरी ऐनमा ५० प्रतिशत महिला आरक्षणको व्यवस्था गरिएको छ । प्रदेश सरकारले महिलाको नाममा उद्योग दर्ता गरी सञ्चालन भए २० वर्ष राजस्व नलिने कानुनी व्यवस्था समेत गरेको छ ।